दफा २६
परिषद्मा दर्ता गर्नु पर्ने
(१) दफा २३ बमोजिमको राष्ट्रिय खेल संघ वा महासंघले राष्ट्रिय मान्यता पाउनको लागि परिषद्मा दर्ता गराउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम परिषद्मा दर्ता गराउनको लागि देहाय बमोजिमका कागजातहरु संलग्न गरी तोकिए बमोजिमको दस्तुर सहित परिषद्मा निवेदन दिनु पर्नेछः-

(क) प्रदेश खेल संघ दर्ता प्रमाणपत्रको प्रतिलिपि,

(ख) संघको विधानको प्रतिलिपि,

(ग) संघका पदाधिकारी र सदस्यहरुको नाम, थर र ठेगाना सहितको विवरण, र

(घ) तोकिए बमोजिमका अन्य कागजातहरु ।

(३) उपदफा (२) बमोजिम परिषद्मा दर्ता हुन निवेदन दिने नेपालका मौलिक खेल बाहेकका अन्य खेल संघ वा महासंघले सोही खेलसँग सम्बद्ध अन्तर्राष्ट्रिय खेल संघ वा महासंघ रहेछन्‌ भने त्यस्तो संघ वा महासंघको एक वर्षभित्र आबद्धता लिनु पर्नेछ र सो समयावधिभित्र आबद्धता नलिएमा त्यस्ता खेल संघ वा महासंघको हैसियत स्थानीय खेल संस्था वा क्लब सरह मानिनेछ।

(४) उपदफा (२) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा त्यस्तो संघ यस ऐन बमोजिम परिषद्मा दर्ता गर्न उपयुक्त देखिएमा परिषद्ले तीस दिनभित्र दर्ता गरी तोकिए बमोजिमको ढाँचामा दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।

(५) उपदफा (४) बमोजिम परिषद्बाट दर्ता गर्दा एक खेलको लागि एकभन्दा बढी तथा एकै उद्देश्यका वा समान नाम भएका एकभन्दा बढी संघ वा महासंघलाई दर्ता गरिने छैन ।

(६) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत एउटै खेलको लागि एकभन्दा बढी खेल संघ वा महासंघ गठन भएका रहेछन्‌ भने यो ऐन लागू भएको मितिले तीन महिनाभित्र एउटै खेल संघ वा महासंघ गठन गरी दर्ताको लागि परिषद्ले सूचना जारी गर्नेछ ।

(७) उपदफा (६) बमोजिम जारी सूचनामा तोकिएको म्यादभित्र एउटै संघ वा महासंघ गठन नगरेमा सो अवधि समाप्त भएपछि त्यस्ता खेल संघ वा महासंघको दर्ता स्वतः समाप्त हुनेछ ।

(८) उपदफा (२) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा कुनै संघलाई परिषद्मा दर्ता गर्न उपयुक्त नदेखिएमा परिषद्ले दर्ता गर्न नमिल्ने निर्णय गरी सोको जानकारी सम्बन्धित संघलाई दिनु पर्नेछ ।

(९) उपदफा (४) बमोजिमको दर्ताको मान्य अवधि चार वर्षको हुनेछ ।

(१०) उपदफा (९) मा तोकिएको अवधि समाप्त हुनु अघि सम्बन्धित खेल संघ वा महासंघले नवीकरणको लागि तोकिए बमोजिमका कागजातहरु संलग्न गरी परिषद्मा निवेदन दिनु पर्नेछ। यसरी परिषद्मा दर्ता तथा नवीकरण नभएका खेल संघ वा महासंघको हैसियत स्थानीय खेल संघ वा क्लब सरह मानिनेछ।

(११) यस दफामा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनु अघि प्रचलित कानून बमोजिम परिषद्मा दर्ता भएका खेल संघ वा महासंघ यसै ऐन बमोजिम दर्ता भएको मानिनेछ र त्यस्ता संघ बाँ महासंघले परिषद्मा पुनः दर्ता गर्नु पर्ने छैन ।

(१२) राष्ट्रिय खेल संघ, प्रदेश खेल संघ र स्थानीय खेल संघले खेल सञ्चालन गर्दा यस ऐन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचलित खेलकुदको सर्वमान्य सिद्धान्त अनुरुप समन्वय र सञ्चालन गर्नु पर्नेछ।

(१३): परिषद्मा दर्ता तथा नवीकरण गराउने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।